detail-img

एसईईमा उत्तीर्ण बिद्यार्थीलाई अनेरास्ववियुको सम्मान

बुटवल . पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईको पुरक परिक्षा दिने विद्यार्थीहरुलाई निशुल्क अनलाईन कक्षा संचालन गर्ने बताएका छन्।

शिक्षकहरु गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरु एसइई परिक्षामा फेल भएको उल्लेख गर्दै ओलीले विज्ञ शिक्षकहरुबाट मुख्य मुख्य विषयहरुको निशुल्क अनलाईन कक्षा संचालन गरिने बताए।

 

 नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै ओलीले अबको केहि दिनभित्रै विषय विज्ञ शिक्षकहरुबाट मुख्य विषयहरुको अनलाईन कक्षा संचालन गर्ने बताए।

‘मुख्यगरि अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरु एसईई परिक्षामा अनुत्तिणर् हुनुभएको छ, अहिले अनुत्तिणर् भएपनि पुरक परिक्षामा पास बनाउने गरि हामीले निशुल्क अनलाईन कक्षा संचालन गर्दै छौं त्यसमा जोडिन सबै विद्यार्थीहरुलाई मेरो आग्रह छ,’ ओलीले भने।

उनले फेल भएका विद्यार्थीहरुलाई मौका परिक्षामा राम्रो तयारी गरेर सहभागि हुन आग्रह गरे। ‘अझैपनि केहि बिग्रिएको छैन मौका परिक्षा आउन एक महिना समय बाँकि छ, यो समयमा राम्रो तयारी गरेर पासहुने गरि परिक्षा दिनुभयो अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुने छ त्यसको लागि तयारी राम्रो गर्नुपर्‍यो,’ उनले भने।

२०८० चैत्र १५ गतेदेखि संचालन भएको एसइई परिक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरुका लागि राष्ट्रिय परिक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पुरक परिक्षा तोकेको छ।

सोहि परिक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाईन मार्फत निशुल्क कक्षा संचालन गर्न लागिएको ओलीले बताए। उनले शिक्षकहरुमा आफुभित्र भएको ज्ञान समेत प्रदान गर्ने शिप नहुँदा धेरै विद्यार्थीहरु फेल भएको उनले बताए। ‘अब शिक्षकहरुमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरि प्रदान गर्ने शिप बढाउनुपर्छ,’ ओलीले भने।

सम्बोधनको क्रममा कुनैपनि राजनीतिक अभिव्यक्ती नदिएका ओलीले नेपाल सधै स्वतन्त्र र स्वाभिमानी रहेकोले कुनैपनि मुलुकका सामु कहिल्यै झुक्न नपरेको बताए।

अनेरास्ववियूले एसइई परिक्षामा जिपिए ४ ल्याएर उत्तिणर् भएका रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृतिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तिणर् भएका एकहजार २२८ जना विद्यार्थीलाई सम्मान गरेको हो।