detail-img

मदन भण्डारीः कम्युनिस्ट क्रान्तिका रोलमोडल

जीबी गजल

नेपाली माटोमा एउटा महान् योद्धाको जन्म हुनु आफैँमा गौरवको विषय थियो । नेपाली समाजलाई सिर्जनात्मक तथा मौलिक विचारद्वारा नेतृत्व प्रदान गर्ने विषय चानचुने थिएन र होइन । ताप्लेजुङको एउटा कुनामा जन्मेर समग्र राष्ट्रलाई आफ्नो विचारको प्रकाश छर्ने काम मदन भण्डारीले गर्नुभयो ।

शान्तिपूर्ण आन्दोलन, स्वस्थ प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्दै निर्वाचनमार्फत विजय प्राप्त गरेर आम नेपाली जनताका तमाम समस्याहरूलाई समाधान गर्दै समाजवाद तर्फको बाटो देखाउँदै साम्यवादसम्म पुग्न स्पष्ट भिजनसहितको जबजका निर्माता मदन भण्डारीको जन्म १४ असार २००९ मा ताप्लेजुङको ढुङ्गे साँघुमा भएको थियो । तत्कालीन नेकपा एमालेका महासचिव, वैचारिक हिसाबमा अमर जननेता कमरेड मदन भण्डारीको भौतिक अनुपस्थितिको ३१ वर्ष पुगेको छ । नेपाली राजनीतिको अत्यन्तै ठूलो सम्भावनाका साथ उदाएका भण्डारी आफ्नो जीवनको ४१ वर्षमै अस्ताउनुभयो ।

दुनियाँका क्रान्तिकारीहरूलाई स्तब्ध पार्ने ३ जेठ २०५० मा भएको दासढुंगा हत्याकाण्ड नेपाली जनताका लागि अत्यन्तै दुःखद घटनाका रूपमा स्मृतिमा ताजै छ । जो कोहीले पनि भन्न सक्छ, त्यो सामान्य दुर्घटना नभएर नेपाली कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त गर्ने दुस्साहसका साथ रचिएको एउटा षड्यन्त्रमूलक घटना थियो । उहाँ सँगसँगै तत्कालीन एमालेका कुशल संगठक जीवराज आश्रितको पनि निधन भएको थियो ।

नेपाली कम्युनिस्ट आन्दोलनका एउटा योद्धा, नेपालको आमूल परिवर्तन चाहानेहरूको एउटा उज्यालो साझा सपना जननेता मदन भण्डारी हामीमाझ हुनुहुन्न । न्यायपूर्ण सामाजिक परिवर्तनको आन्दोलनमाथि बज्रपातझैँ लाग्ने त्यो घटनाले परिवर्तन र क्रान्तिकारीहरूलाई नराम्ररी झस्काउँछ ।

मदन भण्डारीको हत्या, हत्या मात्र थिएन । सिङ्गो नेपालको लोकतन्त्र, कम्युनिस्ट आन्दोलन र नेपालको सार्वभौमिकता माथिको बर्बर आक्रमण थियो । मदन भण्डारीलाई समाप्त गर्दा कम्युनिस्ट आन्दोलन समाप्त हुने र बिस्तारै लोकतन्त्र र नेपालको सार्वभौमिकता र स्वाधीनतालाई समेत कब्जा गर्दै नेपाललाई विदेशी प्रतिकृयावादीहरूको शक्तिको इशारामा नचाउने डिजाइनअन्तर्गत मदन भण्डारीको हत्या भएको कुरा तत्कालीन राजनीतिक घटनाक्रम र भण्डारीका विचार व्यक्तबाट बुझ्न सकिन्छ ।

मदन भण्डारी प्रत्येक क्रान्ति चेत भएका सामाजिक न्यायको लागि लड्नेहरू, क्रान्तिकारीका रोलमोडल हुनुहुन्थ्यो । उहाँको त्यो शिखर व्यक्तित्वलाई आदर्श मानेर राजनीतिमा प्रवेश गर्ने क्रम आजसम्म पनि जारी छ । नेपालको नेपाली राजनीतिक इतिहासमा छोटो समयमा आम देशवासीलाई आफ्नो केन्द्रमा कैद गर्न सक्ने व्यक्तित्व कमरेड भण्डारीमा मात्रै थियो ।

इतिहासका निर्माता जनताहरू हुन् तर, तिनीहरूलाई इतिहास बनाउन नेतृत्व गर्ने नायक पनि चाहिन्छ र ती नायक मदन भण्डारी हुनुहुन्थ्यो । २०४७ मा प्रजातन्त्रको पुनर्स्थापना भएदेखि ३ जेठ २०५० को बीचका करिब दुई अढाई वर्षको नेपाली राजनीति मदन भण्डारीको केन्द्रमा थियो ।

विश्व कम्युनिस्ट आन्दोलन धराशायी भइरहेको परिस्थितिमा नेपालमा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा तत्कालीन नेकपा एमाले देशकै प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै थियो । २०४८ को आम निर्वाचनमा प्रमुख प्रतिपक्षी दलको रूपमा सानदार उपस्थिति जनाएको एमाले २०५१ को मध्यावधि निर्वाचनमा पहिलो दल बन्न सफल भयो । जुन उपलब्धि मदन भण्डारीको जनताको बहुदलीय जनवादकै कारण स्थापित भएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनको सञ्जीवनी बुटीसरह बनेको उहाँद्वारा प्रतिपादित सिद्धान्त दक्षिण एसियाली कम्युनिस्टहरूको लागि फेस सेभिङको रूपमा लिने गरिन्छ । नेपाली राजनीतिमा वाककलामा मदन भण्डारी जत्तिको क्षमतावान्, निपूर्ण व्यक्तित्व आजसम्म सायदै कोही छ ।

उहाँका प्रत्यक्ष भाषण सुनेर कम्युनिस्ट भएकाहरू मात्र होइन, उहाँ बितिसकेपछि आजसम्म पनि रेकर्डमा रहेको भाषण सुनेर पनि कम्युनिस्ट हुनेहरूको सङ्ख्या उल्लेखनीय छ । आफ्नो र ओझपूर्ण भाषणद्वारा जनताहरूलाई एकीकृत गरेर सामाजिक न्यायको पक्षमा कटिबद्ध बनाएर अघि बढाउन सक्ने र विरोधीहरूलाई घायल बनाउने मदन भण्डारीको कला आज पनि नयाँ पुस्ताका राजनीतिक क्रान्तिकारीहरूलाई उत्तिकै उपयोगी छ ।

मदन भण्डारी कम्युनिस्ट आन्दोलनको एकताप्रेमी नेता पनि हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनको विकासका लागि, एकताका लागि तत्कालीन समयमा विभिन्न कम्युनिस्ट घटकहरूमध्ये सबैभन्दा प्रमुख शक्ति नेकपा मालेको महासचिवका हैसियतले आफ्नो पार्टीभन्दा सानो नेकपा मार्क्सवादीसँग एकता गरेर सो पार्टीका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वको मातहतमा आफूलाई राखेर कम्युनिस्ट एकताको प्रारम्भ गर्नुभएको थियो । यसैबाट पनि प्रस्ट हुन्छ, मदन भण्डारी कति त्यागी र महान् हुनुहुन्थ्यो भन्ने कुरा ।

अहिले जति पनि राष्ट्रले महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको छ, त्यो जनताको बहुदलीय जनवादकै आलोक र नीतिबाट प्राप्त भएका हुन र नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन, विश्व कम्युनिस्ट आन्दोलनको विकासलाई लक्ष्य प्राप्तिसम्म पुर्‍याउने सिद्धान्त जबजका प्रतिपादक मदन भण्डारी प्रत्येक नेपाली र विश्व कम्युनिष्टहरूका ढुकढुकी हुन् ।

 

- शिलापत्रबाट