detail-img

विद्यार्थी आन्दोलनको परिवर्तित स्वरूप अनेरास्ववियुको ‘विद्यार्थी महोत्सव’

नेपालको विद्यार्थी आन्दोलन राजनीतिक आन्दोलन भन्दा पनि पुरानो छ । नेपालमा राणा शासन विरुद्ध राजनीति आन्दोलन सुरु हुनु अघि विद्यार्थीले आन्दोलनले छेडेका थिए । 

राणा विरुद्धको आन्दोलनमा होमिएकै कारण राणा शासकले विद्यार्थीलाई गोली हानि ज्यान लिएका थिए । विसं १९९७ सालमा तत्कालीन राणा शासकले व्यवस्था विरोधी भन्दै गोलिए हानेका चार सहिद मध्ये गालागाल श्रेष्ठ विद्यार्थी नै हुनुहुन्थ्यो । 

नेपाली विद्यार्थीको प्रजातन्त्रको लागि आहुति दिएको गौरवमय इतिहास छ । सङ्गठित रूपमा नेपालमा विद्यार्थी आन्दोलन सुरु भएको पनि लामै समय बितिसकेको छ । २००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम्’नामको पहिलो सङ्गठित विद्यार्थी आन्दोलनको सुरुवात भएको थियो । त्यस अघि सञ्चालन भएको विद्यार्थीको असङ्गठित आन्दोलनलाई ‘जयतु संस्कृतम्’ आन्दोलनले सङ्गठित रूप दिएको थियो । 

राणा विरुद्ध आन्दोलन गरेर देशमा प्रजातन्त्र स्थापना भए पनि पुनः राजा महेन्द्रले निरङ्कुश पञ्चायती व्यवस्था सुरु गरे । पञ्चायतले नागरिकका सबै स्वतन्त्रता खोस्यो । शासन सत्ता सबै रूपमा राजाको हातमा पुग्यो । 

निरंकुशताको विरुद्ध विद्यार्थीहरू सङ्गठित भई रहका थिए । युवा विद्यार्थीको रगत पञ्चायत विरुद्ध उम्लिरहेको थियो । त्यही उम्लिएको रगतको जोस, जाँगर र सङ्कल्पले विसं २०२२ साल जेठ १ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को स्थापना भयो । 

परिवर्तनको ज्वाला हो अनेरास्ववियु, स्वतः स्फूर्त प्रमाणित गरिदिएको 'विद्यार्थी महोत्सव–२०८१' हामी विद्यार्थी सबैको ठूलो र गहन उपलब्धि हो ।

अबको विद्यार्थी नयाँ सिर्जनशीलताबाट अघि बढ्ने छ ।

अनेरास्ववियुले पञ्चायत विरुद्ध निरन्तर सङ्घर्ष गर्‍यो । राजनीति दलहरू प्रतिबन्धित भएको अवस्थामा अनेरास्ववियुले राजनीतिक जागरणको काम गर्‍यो । पञ्चायत विरुद्ध नागरिकलाई सङ्गठित गर्ने र पञ्चायत विरुद्ध आवाज उठाउने काम गर्‍यो । विद्यार्थी आन्दोलन निरन्तर चलिरह्यो । २०४६ सालको जनआन्दोलनमा पनि विद्यार्थीले अग्रणी भूमिका निर्वाह गरे । नेपालमा बहुदलीय व्यवस्थाको पुनर्बहाली भयो । 

बहुदलीय व्यवस्थामा पनि पुनः तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता कब्जा गरे । दलहरू माथि अघोषित प्रतिबन्ध लगाए । त्यसको विरुद्ध पनि अनेरास्ववियु लड्यो । सबै खालका सामाजिक विकृति तथा राज्य सत्ताको शक्ति दुरुपयोगका विरुद्ध अनेरास्ववियु लड्दै र सफलता प्राप्त गर्दै अहिलेको अवस्थामा आइपुगेको छ । 

विद्यार्थी आन्दोलनको अगुवा संगठन अनेरास्ववियुले आफ्नो स्थापनाको ५९ औँ वसन्त पार गरेको छ । गत जेठ १ गते आफ्नो ६० औँ स्थापना दिवस अनेरास्ववियुले नयाँ ढङ्गले मनाएको छ । प्रविधि र उद्यमसँग विद्यार्थी र नवयुवालाई जोड्ने एउटा पुल बनाउने काम अनेरास्ववियुले आफ्नो स्थापना दिवसको अवसरमा विद्यार्थी महोत्सवको नाममा गरेको छ । काठमाडौंको भृकुटी मण्डपमा वृहत् विद्यार्थी महोत्सव गरेर अनेरास्ववियले विद्यार्थी आन्दोलनको परिवर्तित स्वरूप देखाएको छ । समाजमा नयाँ सन्देश दिएको छ ।  

सुरुवाती चरणमा विद्यार्थी आन्दोलनको तरिका र परिचय भिन्नै थियो । विद्यार्थीको काम विरोध गर्ने, नारा लगाउने र सडक तताउने हो भन्ने मानक स्थापित भएको थियो । तर अनेस्ववियुले ६० औँ स्थापना दिवसमा आइपुग्दा त्यो मानकलाई नै परिवर्तन गरिदिएको छ । समाजको आवश्यकता र समयको माग अनुसार विद्यार्थी आन्दोलनको स्वरूप पनि परिवर्तन हुनुपर्छ भन्ने मान्यता विद्यार्थी महोत्सव मार्फत अनेरास्ववियुले स्थापित गरेको छ ।  

विद्यार्थी आन्दोलन भनेको सडकमा जम्मा हुने, ढुङ्गामुढा गर्ने, चर्का भाषण गर्ने, तोडफोड गर्ने भन्ने मनोविज्ञानलाई चिर्दै विद्यार्थी अनेरास्ववियुले आन्दोलनको परिभाषालाई नयाँ रूप दिन सफल भएको छ । अनेरास्ववियुले विद्यार्थी आन्दोलन भनेका विरोधको मात्र होइन रचनात्मक र सृजनात्मक कामको पुञ्ज हो भन्ने कुरा पनि महोत्सवले स्थापित गरिदिएको छ । 

प्रविधिको विकास, बौद्धिक बहस, कला, संस्कृति प्रदर्शन र मनोरञ्जन सहितको एउटै छानो अनेरास्ववियुले भृकुटीमण्डपलाई बनाइदियो । विद्यार्थी बौद्धिकताका खानि हुन् भन्ने कुरा महोत्सवले प्रमाणित गरिदियो ।   अनेरास्ववियुले विद्यार्थी आन्दोलनलाई रचनात्मक ढङ्गले समाजमा विद्यार्थी महोत्सव मार्फत स्थापित गरिदियो । धेरै मानिसको दिमागमा नै नभएको कुरा अनेरास्ववियुले गरेर देखाइदियो । 

विद्यार्थी महोत्सवले विद्यार्थीहरू परेको बेला लड्ने मात्रै होइन रचनात्मक काममा पनि त्यतिकै अब्बल छन् भन्ने मान्यता स्थापित गर्‍यो ।  लडाइँ, झगडा, तालाबन्दी विद्यार्थीको चाहना होइन, त्यो केवल बाध्यताको उपज हो । विद्यार्थीको चाहना त रचनात्मक सिर्जना हो भन्ने कुरा महोत्सवले पुष्टि गरिदियो । 

महोत्सवमा आएका युवाहरूको मुहारमा आशा र भरोसाको भाव देखिन्थ्यो । केही सिक्ने र रमाउने उत्साहका साथ विद्यार्थी महोत्सवमा बाक्लो उपस्थिति रहेको थियो । त्यो उत्सुकता र कौतुहलता आयोजकका लागि सुखद पक्ष थियो । आउने विद्यार्थी हरेकले केही न केही नयाँ कुरा सिकेर जाउन् भन्ने आयोजकको चाहाना थियो । विद्यार्थी महोत्सवले विद्यार्थी संगठन र विद्यार्थी बिचको सम्बन्ध अझ सुमधुर बनाउन सफल भयो । 

अनेरास्ववियु विद्रोहको बन्दुक मात्रै होइन सृजनाको संवाहक पनि हो भन्ने नारा बोकेर अघि बढिरहेको संगठन हो । ६०औँ स्थापनाको पहिलो पाइलामा नै अनेरास्ववियु फरक र परिवर्तनशील आन्दोलनमा युवा पुस्तालाई आकर्षित गर्दै नयाँ र रचनात्मक बाटोमा लाग्नु सबैको लागि खुसीको कुरा हो ।

महोत्सवमा प्रत्यक्ष परियोजनाहरू, लाइभ म्युजिक, करियर काउन्सिलिङ, बहस र संवाद, सातवटै प्रदेश संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, रक्तदान तथा स्वास्थ्य शिविर, फुड स्टल, ई–गेमिङ्ग प्रतियोगिता, रोवोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका विविध १५ बढी कार्यक्रम आयोजना गरिएको थियो । महोत्सवमा सरकारी–सामुदायिकसहित निजी शिक्षण संस्थाका स्टल पनि राखिएको थियो । सामुदायिक शिक्षण संस्थाका स्टललाई त निःशुल्क गरिएको थियो । यसले सामुदायिक शिक्षा प्रतिको अनेरास्ववियुको सहानुभूति र सम्मान प्रकट गर्‍यो । 

विद्यार्थी महोत्सवसँगै अब त अनेरास्ववियुले विद्यार्थी आन्दोलनलाई रचनात्मक ढंगले ल्याण्डिङ् मात्र गरेको छैन,

रचनात्मक र सृजनात्मक विद्यार्थी आन्दोलनको नयाँ गोरेटो पनि कोरेको छ । नयाँ पालुवा छरेको छ ।

महोत्सवमा उपस्थित युवाहरू स्टल भ्रमण र लाइभ म्युजिकको मनोरञ्जनमा व्यस्त देखिन्थे । ई–गेमिङ्ग र रोवोटिक्स प्रतियोगितामा युवाको बाक्लो उपस्थिति थियो ।

अनेरास्ववियुका महासचिवले महोत्सवको अन्तिम दिन अर्थात् जेठ ३ गते अनेरास्ववियुका तर्फबाट एक प्रण गर्नुभयो कि ‘हामी थपाइहरू पढ्ने विश्वविद्यालय, क्याम्पस र विद्यालयहरुमा तालाबन्दी गर्दैनौँ ।’ यो विश्वविद्यालयको शैक्षिक गतिविधि बिगार्ने र विश्वविद्यालयमा राजनीति गरेर विद्यार्थीको भविष्य बिगार्न गलत नियत भएकाको लागि चुनौती पनि थियो ।  

अन्य विषय र आविष्कारसँगै महोत्सवमा अनेरास्ववियुको इतिहास समेटिएको तस्बिर, वृत्तचित्र प्रदर्शनी गरियो । जसबाट आम विद्यार्थीहरूले अनेरास्ववियुका बारेमा थाहा पाउन पाए ।  

विभिन्न विषयका संवाद र बहसमा देशका चर्चित राजनीतिकर्मीदेखि सामाजिक अगुवाले आफ्नो धारणा राख्नु भयो । यसले समसामयिक विषयमा प्रष्ट हुने अवसर सिर्जना गर्‍यो । 

प्राविधिक दुनियाँको रोबोट देखि परम्परागत मोही पार्ने ठेकी र टपरी गाँस्ने सालका पाता महोत्सवमा देखिन्थे । खानेकुराका परिकार, पर्यटन भिजन, नेपाली तथा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूको जानकारी दिइने स्टलले पनि महोत्सवमा नयाँ ज्ञान दिइरहेका थिए । 

इ–गेमिङ, रोब सकर, रोबोटिक्स वार विद्यार्थीको चासोको विषय बनेको थियो । रोबो सकर, रोबोटिक्स वारजस्ता प्रविधिमा आधारित प्रतिस्पर्धामा सीमित समूहले प्रतिस्पर्धा गरे पनि त्यसको अवलोकन गर्ने विद्यार्थीको चाप भने राम्रो थियो । 

मनोरञ्जनका निम्ति युवा पुस्ताले मन पराएका र रुचाएका जोन चाम्लिङ्ग राई एण्ड द लोकल्स, द इलिमेन्ट र अनुप्रस्थ जस्ता ब्यान्डहरूले साङ्गीतिक प्रस्तुति दिएका थिए । पहिलो दिन जोन चाम्लिङ्ग राई एण्ड दी लोकल्स, दोस्रा दिन द इलिमेन्ट र तेस्रो दिन अनुप्रस्थले विद्यार्थीलाई नचाएका थिए ।

समग्रमा विद्यार्थी महोत्सव अनेरास्ववियुको मात्र नभएर विद्यार्थी आन्दोलनकै नयाँ युग र इतिहासको सुरुवात हो भन्दा फरक पर्दैन । हरेक आन्दोलनको सुरुवात अनेरास्ववियुले गर्छ र सडकको बाघ संगठन पनि अनेरास्ववियु नै हो भन्ने कुरा पुनः पुष्टि भएको छ । हरेक परिवर्तनका मोर्चामा आफूलाई अब्बल बनाउँदै आएको कुरालाई अनेरास्ववियुले यस पटक फेरि प्रमाणित गरेको छ । 

‘अनेरास्ववियु विद्रोहको बन्दुक मात्रै होइन सिर्जनाको संवाहक पनि हो ।’ गौरवपूर्ण इतिहास बोकेको अनेरास्ववियुले केही महिना पहिले ‘कालो अक्षर, रातो अक्षर’ नाटक प्रदर्शन गरेर शैक्षिक विकृतिमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो । सुस्त बनेको विद्यार्थी आन्दोलन सो नाटकले जुरमुराएको थियो । 

विद्यार्थी महोत्सवसँगै विद्यार्थी आन्दोलनलाई रचनात्मक र सिर्जनात्मक बाटो देखाएको छ । सिर्जनाको आन्दोलनमा नयाँ बिउ रोपेको छ ।  

परिवर्तनको ज्वाला हो अनेरास्ववियु, स्वतः स्फूर्त प्रमाणित गरिदिएको 'विद्यार्थी महोत्सव–२०८१' हामी विद्यार्थी सबैको ठूलो र गहन उपलब्धि हो । अबको विद्यार्थी आन्दाेलन नयाँ सिर्जनशीलताबाट अघि बढ्ने छ ।

हामी फेरि भेट्ने छौं । यस्तै र अझै रचनात्मक, सृजनात्मक र सृजनशिल विद्यार्थी महोत्सव लिएर । 

 

-सनराइज खबरबाट